samajikkhabar.com

इशारा कोइराला 

काठमाडौं : पछिल्लो समय प्राथमिक सेयर (आइपीओ) मा लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको छ । लक डाउन (चैत) यताको तथ्यांक हेर्ने हो भने आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या भारी संख्यामा वृद्धि भएको देखिन्छ । यसअवधिमा आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या ६४.५४% ले बढेको हो । यो चैतमा आइपीयो जारी गर्ने नेपाल पुनर्बिमा कम्पनी र भर्खरै (मंसिर ३ गतेसम्म) आइपीओ जारी गर्ने  माउण्टेन इनर्जीबीचको तुलना हो ।

नेपाल पुनर्बिमा कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म निष्कासन गरेको आइपीओमा ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएको बिक्री प्रबन्धक सानिमा क्यापिटल जानकारी दिएको छ । यता, भर्खरै आइपीओ जारी गरेको माउण्टेन इनर्जीको आइपीओमा ६ लाख ७४ हजार १८३ जनाले आवेदन दिएका थिए । अझ आइपीओ जारी भएको कित्ता पछिल्ला दिनहरुको थोरै देखिएको छ । तर पनि लगानीकर्ताको चाप भने बढेको बढ्यै छ ।

यसको प्रमुख कारण भनेको दोस्रो बजारमा सेयरको भाउ बढ्दै जानु नै हो । दोस्रो बजार सुधार हुँदै जाँदा प्राथमिक बजारमा पनि लगानीकर्ताको चाप वृद्धि हुने गर्छ । चैतयता नेपाल पुनर्बिमासहित विभिन्न १२ वटा कम्पनीले आइपीओ जारी गरिसकेका छन् । यसअवधिमा सबैभन्दा धेरै आवेदन सानिमा जनरल इन्सुरेन्सको आइपीओमा परेको छ । यस कम्पनीको आइपीओमा ८ लाख ८८ हजार ७०६ जनाले आवेदन दिएका थिए ।

पछिल्लो समय आइपीओ खुलेको मध्ये सबैभन्दा थोरै आवेदन लिबर्टी इनर्जीको परेको छ । यस कम्पनीको आइपीओमा १ लाख ८८ हजार ४९९ जनाले मात्रै आवेदन दिएका थिए । तर दोस्रो बजारमा जलविद्युत् कम्पनीको भाउ पनि माथि जान थालेसँगै यस समूहको आइपीओमा पुनः लगानीकर्ता आकर्षण वृद्धि हुन थालेको छ ।

यसको उदाहरणको रुपमा युनाइटेड इदी मर्दी हाइड्रोपावर र माउण्टेन इनर्जीलाई लिन सकिन्छ । युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओमा ५ लाख ४१ हजार जनाभन्दा धेरैले आवेदन दिएका छन् भने माउण्टेन इनर्जीमा ६ लाख ७४ जनाभन्दा धेरैले आवेदन दिएका छन् । 

यति धेरै आकर्षको के छ कारण ?

 माथि नै उल्लेख गरे अनुसार पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढ्नुको मुख्य कारण भनेको दोस्रो बजारमा बढ्दो क्रममा रहेको सेयर भाउ नै हो । लक डाउनपछि आइपीओ खुला गरेर दोस्रो बजारमा सूचीकृत भएका सबै कम्पनीको सेयरबाट लगानीकर्ताले राम्रो नाफा प्राप्त गरेका छन् । यसबीचमा सबैभन्दा धेरै आकर्षण र नाफा नेपाल पुनर्बिमा कम्पनीले बनाएको देखिन्छ । यस कम्पनीको सेयर भाउ निकै छोटो समयमा अत्याधिक वृद्धि भएको छ ।  लक डाउनयता समग्र सेयर बजार वृद्धिको क्रममा छ । यसबीचमा प्रायः सबै कम्पनीको सेयर भाउ वृद्धि भएको छ । यस्तै, लक डाउनका कारण मानिसको प्रविधिसँग निकटता बढेको देखिन्छ । यसले पनि आइपीओमा लगानी गर्न थप सहज बनाएको छ । सथै, सधै व्यस्त हुने मानिसले लक डाउनमा मिलेको फुर्सदका बेला सेयर बजार सम्बन्धी अध्ययन गर्न पाएकाले पनि यसतर्फ आकर्षण बढाउन सहयोग पुगेको जानकारहरु बताउँछन् ।  अझै प्राथमिक सेयरमा पहुँच बढाउन आवश्यक प्राथमिक बजारमा सेयर आवेदन दिनेको संख्या बढिरहेको भए पनि अझै यो पर्याप्त देखिएको छैन । कुल जनसंख्याको अत्यन्त न्यून हिस्सामात्र आइपीओ बजारमा आएको पाइन्छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबारसम्म २२ लाख ४३ हजार ४३३ जनाले डिम्याट एकाउन्ट खोलेका छन् । करिब ३ करोड जनसंख्यालाई आधार मान्ने हो भने यो संख्या ज्यादै कम हो ।

यस्तै, अहिलेसम्म डिम्याट खाता खोल्ने र पछिल्लो समय सबैभन्दा धेरै आवेदन परेको सानिमा जनरल इन्सुरेन्सको लगानीकर्ता संख्या हेर्ने हो भने पनि डिम्याट खोल्नेको तुलनामा आवेदन दिनेको संख्या ज्यादै न्यून देखिन्छ । एउटा व्यक्तिले २ वटासम्म डिम्याट खोल्ने पाउने व्यवस्था भएकाले पनि यो संख्या उच्च देखिएको हो । तथापि, प्राथमिक बजारको ज्ञान र पहुँच आभावका कारण पनि अझै आइपीओ आवेदन दिनेको कम रहेको हो । यसलाई सरोकारवाला निकायले स्वीकार गरेर वित्तीय शिक्षा र पहुँचको वृद्धि गर्न आवश्यक देखिन्छ । 

samajikkhabar.com